वीरगन्ज । भारतको बिहारबाट विकसित भई नेपाल भित्रिन लागेको भारी वर्षाको प्रणालीका कारण शनिबार दिउँसोदेखि देशका विभिन्न भागमा बाढीपहिरोको उच्च जोखिम बढेको छ।
मौसमविद्हरूले जनधनको क्षति रोक्न पूर्वतयारीस्वरूप जोखिमयुक्त क्षेत्रका राजमार्गहरू बन्द गरिदिन उपयुक्त हुने सुझाव दिएका छन्।
मौसम पूर्वानुमानका अनुसार, यो प्रणाली आज बिहानैदेखि वीरगन्ज आसपास हुँदै जनकपुरसम्मको क्षेत्रमा प्रवेश गर्नेछ र यसले मध्य तराई तथा पहाडी भेगका धेरै ठाउँमा भारी वर्षा गराउनेछ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम केन्द्रीय विभागका अध्यापक डा. विनोद पोखरेलका अनुसार गत वर्ष ११–१२ असोजमा जस्तै भारी वर्षाको सम्भावना रहेकोले शनिबार अपरान्हदेखि नै राजमार्ग बन्द गरिदिनु बुद्धिमानी हुनेछ।
उनले चितवन, मकवानपुर, काठमाडौं, काभ्रे जस्ता यात्रुहरूको चाप बढी हुने र पहिरोको जोखिममा रहेका क्षेत्रका राजमार्ग बन्द गर्नु नै उचित हुने बताएका छन्। काठमाडौं भित्रिने मुख्य नाका नारायणगढ–मुग्लिन–नागढुंगा, हेटौंडाबाट आउने सडक र बनेपा–बर्दिबास राजमार्ग लगायतका स्थानहरू अति जोखिममा छन्।
भारी वर्षाको प्रक्षेपणसँगै स्थानीय प्रशासनहरूले बीपी राजमार्ग, काठमाडौं–हेटौंडा जोड्ने कान्तिपथ र हेटौंडा–भैंसे–काठमाडौं सडकमा रातिको समयमा सवारी साधन चलाउन रोक लगाइसकेका छन्।
मौसमविद्हरूका अनुसार, यो प्रणाली शनिबार र आइतबारसम्म मध्य तथा पूर्वी नेपालमा सक्रिय रहनेछ र त्यसपछि पूर्वी नेपालबाट बाहिरिनेछ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार बिहानदेखि देशभरको मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको छ।
कम्तीमा पनि दुई दिन (शनिबार र आइतबार) सरकारीस्तरदेखि आम मानिससम्म सजग र सतर्क हुनुपर्नेमा मौसमविद्हरूले जोड दिएका छन्।