महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका, खैरमारामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।
२० जना यात्रु घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले जनाएको छ।
काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६४ नम्बरको यात्रुवाहक बस बिहान काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो।
दुर्घटनामा परी सुरुमा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको थियो। त्यसपछि घाइतेमध्ये सर्लाहीको ईश्वरपुर नगरपालिका– १२ का १२ वर्षीय प्रविण खड्काको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले पुष्टि गरेका छन्।
डीएसपी भट्टका अनुसार बस दुर्घटनामा घाइते भएका २० जनाको उपचार भइरहेको छ। गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि अन्यत्र पठाइएको छ भने बाँकी घाइतेहरूको स्थानीय अस्पतालमा उपचार जारी छ।