वीरगन्ज । टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप मलेसियामा शृङ्खला खेल्न पुगेको नेपाली महिला क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय खेलमा निराशाजनक हार बेहोरेको छ।
रोमाञ्चक बनेको उद्घाटन खेलमा नेपाल आयोजक मलेसियासँग मात्र ३ रनले पराजित भएको हो।
नेपालको लक्ष्य टी–२० विश्वकप ग्लोबल छनोटको तयारी भए पनि पहिलो खेलमा पाएको झड्काले टोलीलाई दबाबमा ल्याएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रन को मध्यम योगफल खडा गरेको थियो। मलेसियाका लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन को योगदान दिइन्।
नेपालका लागि सोमु विष्टले २ विकेट र कप्तान रुबिना क्षेत्रीले १ विकेट लिए पनि अन्य बलरहरूले कसिलो बलिङ गर्न सकेनन्।
जीतका लागि १०५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको ब्याटिङ लाइनअपले दबाब झेल्न सकेन। २० ओभरमा नेपालले ७ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो। नेपालका लागि युवा खेलाडी पूजा महतोले सर्वाधिक ३० रन बनाएर टोलीलाई जीत नजिक पुर्याएकी थिइन्। यस्तै, सम्झना खड्काले १८ र कविता जोशीले १३ रनको योगदान दिएका थिए।
लक्ष्य सानो भए पनि मलेसियाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। नुर दानिया स्यादाले ४ ओभरमा मात्र १० रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिँदै नेपालको मध्यक्रम ध्वस्त पारिन्। उनलाई कप्तान विनिफ्रेड डुरैसिंगम र आइसा एलिसाले २–२ विकेट लिएर राम्रो साथ दिए।
नेपालले अब यो पाँच खेलको शृङ्खलामा पुनरागमन गर्नुपर्ने चुनौती छ। टी–२० विश्वकप ग्लोबल छनोटको तयारीको यो महत्त्वपूर्ण शृङ्खलाको दोस्रो खेल शनिबार हुनेछ।