जनकपुरधाम । हालै देशभर चर्चामा रहेको जेनजी आन्दोलनले मधेश प्रदेशमा भौतिक संरचनातर्फ ठूलो क्षति पुर्याएको विवरण सार्वजनिक भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनका क्रममा ९० वटा प्रहरी कार्यालय र २०७ वटा सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी हुँदा कूल ७ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार, यो आन्दोलनले राज्यका महत्त्वपूर्ण पूर्वाधारहरूमाथि गम्भीर असर पुर्याएको थियो।
आन्दोलनकारीहरूको निशानामा सवारी साधनहरू पनि परेका थिए। प्रहरीका अनुसार आन्दोलनका क्रममा २ करोड ६ लाख ७८ हजार ३ सय ८० रुपैयाँ मूल्य बराबरका सवारी साधनहरू जलाइएका छन्। यसले प्रहरीको परिचालन र सरकारी सेवा प्रवाहमा समेत केही समय अवरोध पुगेको थियो।
आन्दोलनले पुर्याएको क्षतिको बावजुद, सबै क्षतिग्रस्त कार्यालयहरूलाई मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा ल्याइएको छ। तोडफोड र आगजनीका कारण विस्थापित भएका प्रहरी कर्मचारीहरू पनि आ–आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्।
मधेश प्रदेशमा यो आन्दोलनले सरकारको सार्वजनिक सम्पत्तिमाथि पुर्याएको क्षति निकै ठूलो देखिएको छ। जेनजी समूहले नेतृत्व र प्रणालीमाथि प्रश्न उठाउँदै गरेको आन्दोलनले भौतिक विनाशको बाटो लिएपछि यसको वैधानिकता र नियन्त्रणको विषयमा समेत बहस सुरु भएको छ।