वीरगन्ज । नेपालको राजनीतिक वृत्तमा अहिले जेनजी आन्दोलनले नयाँ तरंग ल्याएको छ।
पुराना राजनीतिक दलहरूको कार्यशैली र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रेका युवा समूहहरूले अब दलहरूको तेस्रो पुस्तालाई पार्टीभित्रै हस्तक्षेप गरी रूपान्तरणको संवाहक बन्न आग्रह गरेको छ ।
इण्डिजिनियस जेन–जी कलेक्टिभ, जेन–जी मुभमेन्ट अलायन्स र हाउ टु देश विकास लगायतका समूहहरूले ३९ जिल्लाका प्रतिनिधिसँग छलफलपश्चात संयुक्त विज्ञप्ति जारी गर्दै यो आह्वान गरेका हुन्।
युवा समूहहरूले पुराना दलका तेस्रो पुस्ताका नेताहरूलाई सिधै सम्बोधन गर्दै भनेका छन्, ‘देशमा झल्किएको परिवर्तनको हुङ्कारलाई पार्टी भित्र पनि लैजानुस्।’ उनीहरूले अबको नेतृत्व ‘असल, इमानदार, नैतिकवान्, दयाल’, पारदर्शी, जवाफदेही र जनताप्रति सहानुभूति भएकोु हुनुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमा युवाहरूले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण समावेशीताको अवधारणाप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। उनीहरूको प्रश्न व्यवस्थाप्रति नभई त्यसको नेतृत्वकर्तामाथि भएको भन्दै उनीहरूले भनेका छन्, ‘हाम्रो शंका राजनैतिक नेतृत्व, राजनैतिक इच्छाशक्ति, दलीय नैतिककता, कार्यप्रणाली र व्याप्त दलियाकरण र दलतन्त्रप्रति हो।’
आन्दोलनकारी समूहहरूले देश लुट्ने र भ्रष्टाचार गर्ने नेताहरूलाई तेस्रो पुस्ताले खबरदारी गर्नुपर्ने र ‘लुटेको धन फिर्ता’ गराउन पहल गर्नुपर्ने माग गरेका छन्।
उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतलाई तत्काल पक्राउ गरी छानविन प्रक्रिया अघि बढाउन माग गरेका छन्।
ुविज्ञप्तिमा भनिएको छ, यो आन्दोलनले सरकार र नेतृत्वप्रति जनताको विश्वास गुमिसकेको ठूलो प्रमाण र चेतावनी दिएको छ। युवा समूहले वर्तमान ‘अन्तरिम सरकार’को वैधानिकता स्वीकार्दै त्यसलाई दिशानिर्देश गर्ने र भावी सरकारलाई समेत मार्गनिर्देशन गर्ने गरी राज्य र आन्दोलनरत पक्षबीच सम्झौता हुनु अत्यावश्यक रहेको धारणा सार्वजनिक गरेका छन्।
साथै, भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक विद्रोह मात्र पर्याप्त नहुने भन्दै उनीहरूले नागरिक समाज र जनतालाई राज्यसंयन्त्रको कामकारबाहीको सशक्त निगरानी गर्न आह्वान गरेका छन्।