
बीरगन्ज । नहरमा ट्याक्टर खस्दा सर्लाहीमा माछा मारिरहेका एक जना बालकको ज्यान गएको छ । मलङ्गवा नगरपालिका वडा नम्बर ७ मुसैलीमा नहरमा ट्याक्टर खस्दा माछा मारिरहेका एक जना बालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा मुसैलीका दिनेश साहका १२ वर्षीय छोरा रवि साह रहेका छन् । दुर्घटनामा अन्य तीन जना बालक घाइते समेत भएका छन् ।
बिहीबार (आज) बिहान साँढे सात बजे खुटौनाबाट मुसैलीतर्फ जाँदै गरेको ना ३ त १६२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नहरबाट तल पल्टिएको थियो ।
ट्याक्टर पल्टिएर नहरमा माछा मारिरहेका बालकहरूमाथि बजारिन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रविको उपचारका लागि बीरगन्जतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जवाहिर मन्सुरका छोरा १० वर्षीय सलमान मन्सुर र कौशल मन्सुरीका छोरा १० वर्षीय जमाल मन्सुर गम्भीर घाइते छन् ।
उनीहरुलाई थप उपचारका लागि बीरगन्ज रेफर गरिएको प्रहरीले जनाएको छ । यस्तै सामान्य घाइते दिनेश साहका अर्का छोरा १० वर्षीय आर्यन साहको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार जारी छ ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।