ट्रेन्डिङ

गभर्नरलाई स्थानीयको आग्रह : ‘ठोरीलाई कृषि र पर्यटनमा आधारित ‘सेज’ घोषणा गरियोस्’

वीरगन्ज । दशैँको अवसर पारेर ठोरी भ्रमणमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई स्थानीय युवा उद्यमी तथा व्यवसायीहरूले ठोरी क्षेत्रलाई पर्यटन, कृषि र वनजङ्गलमा आधारित लगानीको ‘विशेष आर्थिक क्षेत्र (सेज)’ घोषणा गर्न पहल गरिदिन विशेष आग्रह गरेका छन्।

मङ्गलबार ठोरी जङ्गल रिसोर्टमा भएको अनौपचारिक छलफलका क्रममा स्थानीय व्यवसायीहरूले गभर्नर पौडेलसमक्ष ठोरीको आर्थिक विकास र वित्तीय पहुँच विस्तारका लागि दर्जनौं माग प्रस्तुत गरे।

स्थानीय युवा व्यवसायी सुदीप थापाको पहलमा भएको उक्त छलफलमा गभर्नर पौडेलसहित नेपाल राष्ट्र बैंकका प्रमुख दीर्घ रावल र वीरगन्ज शाखा प्रमुख सुशील पौडेलको पनि सहभागिता थियो।

मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठोरीमा वित्तीय पहुँच कमजोर रहेको भन्दै स्थानीय उद्यमीहरूले तत्काल वाणिज्य बैंक र कृषि विकास बैंकको शाखा विस्तार का लागि गभर्नर पौडेलसँग आग्रह गरे।

थापाका अनुसार स्थानीय किसान, उद्यमी र व्यवसायीहरूलाई लक्षित गर्दै कृषिऋण, सहुलियतपूर्ण उद्यमशीलता ऋण उपलब्ध गराउन तथा गाउँपालिकाका वडाहरूमा मोबाइल बैंकिङ वा शाखारहित बैंकिङ सेवा को व्यवस्था गर्न जोड दिइएको छ। विशेष गरी, होटलरपर्यटन र कृषि–उद्योगमा लगानी गर्न सरल र कम ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइदिन समेत अनुरोध गरिएको छ।

सहकारी संस्थाहरूको माध्यमबाट किसान, महिला समूह र युवा उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जाको पहुँच बढाउने व्यवस्थाका लागि समेत स्थानीयले पहल गर्न आग्रह गरेका छन्।

वर्तमान युगको मागअनुसार ठोरीमा डिजिटल वित्तीय पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै युवा उद्यमीहरूले मोबाइल बैंकिङ र डिजिटल भुक्तानी प्रणाली विस्तारमा सहयोग मागेका छन्।

स्थानीय बजार, पसल र सहकारीहरूमा डिजिटल भुक्तानी प्रणाली लागू गर्नका लागि आवश्यक तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ। यसका साथै, स्थानीय जनतालाई बचत, लगानी, बीमा र ऋणको सदुपयोग सम्बन्धि वित्तीय शिक्षा दिने कार्यक्रम सञ्चालन गर्न समेत अनुरोध गरिएको थापाले जानकारी दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै