ट्रेन्डिङ

साढे दुई वर्षीया आर्यतारा शाक्य बनिन् नयाँ ‘कुमारी’

वीरगन्ज । काठमाडौंमा परम्परागत रूपमा पूजिँदै आएकी जीवित देवी (कुमारी)को आसनमा अब स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्य विधिवत् रूपमा स्थापित भएकी छन्।

आज मध्याह्नको शुभसाइत पारेर विशेष धार्मिक विधि विधानका साथ उनलाई कुमारी घरमा प्रवेश गराई आसन ग्रहण गराइएको हो।

महालक्ष्मीको प्रतीक मानिने कुमारीका रूपमा विधिवत् आसन ग्रहण गरेपछि नयाँ कुमारी आर्यतारालाई बाजागाजासहित तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराउने तयारी गरिएको छ।

नयाँ कुमारी चयनका लागि आवश्यक सम्पूर्ण विधिवत् प्रक्रिया पूरा गरिएको थियो। यस क्रममा गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवाला सबै पक्षसँग सल्लाह तथा परामर्श गरिएको थियो। कुमारीको नाम सिफारिस गर्नका लागि सम्बन्धित सबै बहालहरूलाई पत्राचार गरेपछि आर्यतारालाई सर्वसम्मत रूपमा नयाँ कुमारीका रूपमा छनोट गरिएको हो।

नयाँ कुमारीलाई आसन ग्रहण गराएसँगै यसअघि कुमारीका रूपमा रहेकी देवीको पनि परम्परा अनुसार विधिवत् बिदाइ गरिएको छ। नेपालको मौलिक सम्पदा मानिने यो कुमारी परम्परा तत्कालीन राजा जयप्रकाश मल्लले स्थापना गरेको मानिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै