वीरगन्ज । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेनजी पुस्ताको आन्दोलनले उठाएका आवाजलाई समर्थन गर्दै अहिलेका शीर्ष राजनीतिक नेताहरूलाई जतिसक्दो चाँडो बिदा गर्नुपर्ने धारणा राखेका छन्।
सोमबार एक वक्तव्य जारी गर्दै भुसालले नेताहरूको बहिर्गमनबाट मात्र दलहरूभित्र नयाँ आशा र विश्वास पैदा भई पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्न सकिने बताएका छन्।
भुसालले मुलुकलाई सही दिशामा लैजान दुई मुख्य कदम चाल्न जरुरी रहेको औँल्याएका छन् । सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरी स्रोत नखुलेका सबै सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्ने र संविधान जारी भएपछिको सम्पूर्ण राजनीतिक अभ्यासको श्वेतपत्र जारी गर्नुपर्ने उल्लेख गरेका छन् ।
महासचिव भुसालले मुलुकको यो दुर्दशा हुनुमा पद नछाड्ने शीर्ष नेताहरू नै मुख्य जिम्मेवार रहेको आरोप लगाएका छन्।
‘मरणोपरान्त सत्ताभोगका लागि राजनीतिक दललाई कब्जा गरेर बसेका मुख्य नेताहरू नै यसका मुख्य जिम्मेवार हुन्,’ उनले भनेका छन्। उनले शीर्ष नेताहरूले संस्थागत सुधारको परिणाममुखी पहलकदमी नदेखाएको बताउँदै अहिले पनि पद नछाड्नका लागि अनेक बहानाबाजी गरिरहेको टिप्पणी गरेका छन्।

