ट्रेन्डिङ

ठोरीमा ७३ वर्षीय वृद्धको शव फेला, जङ्गली जनावरको आक्रमणको आशङ्का

वीरगन्ज । पर्साको ठोरी गाउँपालिका–५, सुवर्णपुरमा विगत चार दिनदेखि हराइरहेका एक वृद्धको शव सडेगलेको अवस्थामा खोल्सामा फेला परेको छ।

असोज ९ गते (बिहीबार) बिहान सुवर्णपुर चोक जान घरबाट निस्किएका ७३ वर्षीय निरे लोप्चन आइतवार साँझ सुवर्णपुरको आठघरे नजिकैको खोल्सामा मृत भेटिएका हुन्।

लोप्चन घर नफर्किएपछि परिवार र स्थानीयवासीले पर्सा राष्ट्रिय निकुञ्जको किनारा र भारतको सिमावर्ती क्षेत्रसम्म व्यापक खोजी गरेका थिए।

वडाध्यक्ष अष्टबहादुर लोप्चनका अनुसार, करिब एक वर्षअघि सोही खोल्सामा बाघको आक्रमणबाट एक जना स्थानीयको ज्यान गएको घटनाले गर्दा गाउँलेहरूले आइतवारदेखि खोल्सा क्षेत्रलाई केन्द्रित गरेर खोजी अभियान चलाएका थिए।

सोही खोजी अभियानका क्रममा सोमबार बिहान लोप्चनको शव भेटिएको हो।

वडाध्यक्ष लोप्चनले शवको अनुहार, घाँटी लगायतका भागको मासु लुछिएको अवस्थामा पाइएकोले जङ्गली जनावरको आक्रमणबाटै ज्यान गएको हुन सक्ने प्रारम्भिक आशङ्का व्यक्त गरेका छन्।

घटनास्थलमा अहिले नेपाल प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले अनुसन्धान गरिरहेका छन्। प्रहरीका अनुसार, मृत्युको वास्तविक कारण विस्तृत अनुसन्धान र पोष्टमार्टम पछि मात्र खुल्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै