ट्रेन्डिङ

दशैंको सप्तमी आज : कालरात्रि देवीको पूजा गरिँदै

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैंको सातौँ दिन अर्थात् आश्विन शुक्ल सप्तमी आज देशभर फूलपाती पर्वका साथै शक्तिस्वरूपा देवी कालरात्रिको पूजा आराधना गरी मनाइँदैछ।

हिन्दू शास्त्रअनुसार सप्तमीका दिन दुर्गाको सातौँ रूप माता कालरात्रिको विशेष पूजा गर्ने परम्परा छ।

कालो वर्ण, गधा वाहन, तीन आँखा र चार हात भएकी देवी कालरात्रिले क्रमशः तरवार, मसाल, वरमुद्रा र अभयमुद्राको धारणा गरेकी हुन्छन्।

स्वरूप डर लाग्दो देखिए पनि भक्तजनलाई शुभ फल प्रदान गर्ने भएकाले उनलाई ‘शङ्करी’ नामले पनि चिनिन्छ।

विश्वास छ, देवी कालरात्रिको स्मरण गर्दा दानव, दैत्य, राक्षस तथा भूत–प्रेत भाग्ने गर्छन्।

सप्तमीको पूजा आराधनाले साहस, धैर्य र आत्मविश्वास प्रदान गर्ने तथा जीवनका समस्याको समाधानसहित शत्रु नाश हुने शास्त्रीय मान्यता छ।

यस दिन देवीलाई सख्खर अर्पण गर्ने र गरिबलाई दान गर्ने परम्परा छ, जसले दरिद्रता निवारण हुने विश्वास गरिएको छ।

फूलपातीको वैदिक परम्परा

यसै दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याउने वैदिक परम्परा पनि रहेको छ।

कृत्यतत्वार्ण ग्रन्थअनुसार फूलपातीमा नौ प्रकारका पत्रिका—केरा, काली बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोक, मानेकर्कलो र धान प्रयोग गरिन्छ।

पूजामा रातो–निलो वस्त्र, रातो फूल र विभिन्न नैवेद्य अर्पण गरिन्छ।

सप्तमीको पूजाअनुष्ठानमा प्रतिपदाको सङ्कल्प अनुसार दुर्गा र बेलवृक्षको पूजा गरी प्रार्थना गर्ने चलन छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै