काठमाडौँ । नेपालीहरूको महान् चाड दशैंअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर शास्त्रीय विधिअनुसार घर–घरमा भित्र्याएर मनाइँदैछ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आराधना भइरहेको दशैं घर वा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षसहितको फूलपाती भित्र्याउने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका एक सदस्यका अनुसार फूलपातीलाई ‘नवपत्रिका’ पनि भनिन्छ।
यसलाई नवदुर्गाका पार्षद देवीहरूको प्रतीक मानिन्छ।
“केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ,” उनले बताए।
फूलपाती भित्र्याएपछि नौवटै देवीको वैदिक विधिपूर्वक पूजा आराधना गरिन्छ।
यसका लागि कुनै विशेष साइत आवश्यक नपर्ने भट्टराईको भनाइ छ।
हनुमानढोका दरबारको विशेष परम्परा
फूलपाती भित्र्याउने विशेष परम्परा काठमाडौँको हनुमानढोका दरबारमा रहिआएको छ।
गोरखा जिल्लाबाट दशैंघरका पूजारी र मगर समुदायका छ जना बोक्दै धादिङको जीवनपुरसम्म ल्याउने परम्परा छ।
त्यहाँबाट काठमाडौँको जमलसम्म राजधानीबाट गएका छ जना ब्राह्मणले फूलपाती ल्याउँछन्।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक झाँकीसहित लावालस्करमा फूलपाती भित्र्याउने गरिन्छ।
राजतन्त्र कालमा यस अवसरमा राजाको उपस्थिति रहने परम्परा रहेकामा गणतन्त्रपछि संस्कृति मन्त्रीको सहभागिता रहने प्रचलन बनेको छ।
यस वर्षको फूलपाती सोमबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम तय भएको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ।
दशैंको चहलपहल बढ्दै
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु हुने दशैंको सामाजिक रौनक फूलपातीको दिनदेखि थप सजीव हुने गर्दछ।
राजधानीसहित देशभर आजदेखि नै बजारमा किनमेल, भेटघाट र पूजाआजाको चहलपहल तीव्र बनेको छ।