वीरगन्ज । भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले तत्काल कारागारमा फिर्ता हुन सार्वजनिक सूचना जारी गरेका छन्।
धनुषा, महोत्तरी, पर्सा र रौतहट लगायतका जिल्लाहरूले सूचना जारी गर्दै भागेका कैदीबन्दीहरूलाई असोज २० गते सोमबारभित्र अनिवार्य रूपमा कारागारमा फिर्ता आउन अनुरोध गरेका छन्।
जिल्ला प्रशासन कार्यालय धनुषाले कारागारहरूमा अवस्था सहज बनाउन, क्षतिग्रस्त कारागारहरूको अवस्था सामान्य बनाई सुचारु गर्न र समग्र परिस्थितिलाई नियन्त्रणमा लिन यो कदम चालिएको बताएको छ। उल्लेखित समयभित्र आफैँ फिर्ता नहुने कैदीबन्दीहरूलाई कारागार ऐन, २०७१ र अन्य प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत प्रचलित कानूनबमोजिम कसुरदार ठानी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयहरूले स्पष्ट पारेका छन्। कारागार व्यवस्थापन विभाग, कारागार कार्यालय महोत्तरी लगायतका निकायहरूले पनि सोही व्यहोराको सूचना जारी गर्दै भागेका कैदीबन्दीहरूलाई तोकिएको समयभित्र फिर्ता हुन सूचित गरेका छन्।
फरार कैदीबन्दीबारे सूचना वा जानकारी उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालयहरुले अनुरोध गरेका छन् ।
देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूको खोज, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र पठाउनका लागि अन्य सुरक्षा निकायहरूलाई सम्वन्धात्मक प्रयासमा जुट्न निर्देशन दिइएको प्रशासन कार्यालयहरूले जनाएका छन्।