जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया चाडपर्वका कारण रोकिएको छ।
मुख्यमन्त्री सतिश सिंहले आफ्नो पदबाट लिखित राजीनामा नदिँदा संवैधानिक बाटो नखुलेको र अब नयाँ सरकार दशैँको बिदा सकिएपछि मात्रै बन्ने भएको छ।
आइतबारसम्ममा नयाँ सरकार गठन गर्ने सहमतिमा पुगेका प्रमुख चार दलहरूबीच नेतृत्व फेरेर पुरानै समीकरण कायम गर्ने लिखित सहमति भए पनि मुख्यमन्त्री सिंहले राजीनामा नदिएपछि प्रक्रिया रोकिएको हो।
एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवका अनुसार, मुख्यमन्त्रीको लिखित राजीनामाबिना अर्को सरकार गठन गर्न संवैधानिक रूपमा सम्भव छैन। उनले भने, ‘मुख्यमन्त्रीले पदबाट लिखित रूपमा राजीनामा दिए मात्रै ३० दिन अगावै सरकार निर्माणको बाटो खुल्छ। त्यसकारण अहिले हामी पहिला मुख्यमन्त्रीको राजीनामाको प्रतिक्षा गरिरहेका छौँ।’
चार दलले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेपछि मुख्यमन्त्री सिंहले दशैँको बिदा सकिएपछि मात्र राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ।
मन्त्री यादवले मुख्यमन्त्री सिंहसँगको कुराकानी उद्धृत गर्दै भने, ‘मुख्यमन्त्रीज्यूसँग मेरो कुराकानी भएको छ, बिदा सुरु भइसकेकाले राजीनामा दिन सम्भव छैन भन्नुभयो, त्यसैले दशैँ बिदा सकिएको भोलिपल्टै राजीनामा दिन्छु भन्नुभएको छ।’ यस भनाइले सतिश सिंह नेतृत्वको वर्तमान सरकारको आयु केही दिन लम्बिएको छ।
यसबीचमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ। कांग्रेस, एमाले, जनमत र लोसपाबीच नयाँ गठबन्धन बनाएर सरकार बनाउने लिखित सहमति भएको हो।
जनमत पार्टीले भदौ २८ गते र कांग्रेसले असोज ८ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि चार दलले नेतृत्व परिवर्तन गरी नयाँ सरकार बनाउने सहमति गरेका हुन्। जनमत संसदीय दलका नेता महेश यादवका अनुसार, तत्कालका लागि मुख्यमन्त्रीको मात्र टुङ्गो लगाइएको छ, तर कुन दलले कतिवटा मन्त्रालय पाउने भन्ने विषयमा सहमति हुन बाँकी छ।
मुख्यमन्त्री सिंहले भने तत्काल राजीनामा नदिई दशैँ बिदा सकिएपछि मात्रै राजीनामा दिने वा विश्वासको मत लिने भन्नेबारे छिनोफानो गर्ने तयारी गरिरहेको बताइएको छ।