ट्रेन्डिङ

फरार कैदीबन्दीहरूलाई असोज २० गतेभित्र कारागार फर्कन धनुषा प्रशासनको अल्टिमेटम

फाइल तस्बिर

जनकपुरधाम । भदौ २३ र २४ गते भएको आन्दोलनका दौरान देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई कारागार फर्काउन धनुषा जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ।

गृह मन्त्रालयअन्तर्गतको जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै फरार कैदीबन्दीहरूलाई असोज २० गते सोमबारभित्र सम्बन्धित कारागारमा फर्कि आउन अल्टिमेटम दिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषा तथा अन्य सुरक्षा निकायहरूको समन्वयात्मक प्रयासबाट केही कैदीबन्दीहरू फिर्ता पठाइएको भए तापनि अझै पनि उल्लेख्य संख्यामा कैदीबन्दीहरू बाहिर रहेकोले खोजी, नियन्त्रण र पक्राउ गरी शीघ्र फिर्ता पठाउन यो सूचना जारी गरिएको हो।

प्रशासनले तोकिएको समयसीमाभित्र कैदीबन्दीहरू फर्कि नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानून बमोजिम कडा कारवाही गरिने चेतावनी दिएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानून बमोजिम कारवाही गरिने कुरा सूचनामा स्पष्ट पारिएको छ।

भागेका कैदीबन्दी सम्बन्धी कुनै पनि सूचना वा जानकारी भएमा जिल्ला प्रहरी कार्यालय धनुषाको फोन नम्बर ९८५४०९०४१९ मा सम्पर्क गरी सहयोग गर्न प्रशासनले आम सर्वसाधारणलाई अनुरोध गरेको छ।

यसैगरी जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि असोज २० गतेभित्र फरार रहेका कैदीबन्दीलाई कारागार फर्कन सूचना जारी गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै