वीरगन्ज । नजिकिँदै गरेका दशहरा (वडादशैं), तिहार र छठ पर्वका अवसरमा हुने लामो बिदामा समेत अस्पतालका सेवाहरू निरन्तर सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लामो बिदाका कारण बिरामीले उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्था आउन नदिन यो कदम चालिएको बताएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोत साधन व्यवस्थित गरेर आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरिएको छ।
मन्त्रालयको निर्देशनअनुसार, अत्यावश्यक सेवा, आकस्मिक उपचार र शल्यक्रिया जस्ता सेवाहरू भने सधैंझैं बिदाको समयमा पनि निरन्तर सञ्चालन हुनेछन्।
मन्त्रालयले चाडपर्वका समयमा अस्पतालहरूले नियमित रूपमा सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ र यसको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाहरूको सहयोगको अपेक्षा गरेको छ।
ुयसैबीच, मन्त्रालयले भदौ २३ र २४ गतेका दिन जेनजी प्रदर्शनका क्रममा घाइते भई उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
साथै, उक्त घटनाका क्रममा स्वास्थ्य संस्थाहरूले घाइतेहरूको उपचारमा पुर्याएको योगदानप्रति मन्त्रालयले आभार प्रकट गरेको छ।