वीरगन्ज । जेनजी आन्दोलनको क्रममा घाइते भएका प्रदर्शनकारीहरूको उपचारलाई सहज र व्यवस्थित बनाउन सरकारले महत्त्वपूर्ण कदम चालेको छ।
गृह मन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरूलाई भेट्दै परिचयपत्र वितरणको औपचारिक सुरुवात गरेका छन्।
गृह मन्त्रालयको निर्णय बमोजिम घाइतेहरूलाई परिचयपत्र दिनुका साथै उनीहरूको फलोअप उपचार व्यवस्थित गर्न देशभरका १६ अस्पतालहरूमा ‘डेडिकेटेड जेनजी क्लिनिक’ समेत स्थापना गरिएको छ।
घाइतेहरूलाई उपचारमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले यी क्लिनिकहरू स्थापना गरिएका हुन्। मन्त्रालयका अनुसार
घाइतेहरूलाई विशेष परिचयपत्र उपलब्ध गराइएको छ। घाइतेहरूलाई अस्पतालसम्म निशुल्क आउ–जाउको व्यवस्था मिलाइएको छ भने उपचारमा सहजताका लागि अस्पतालहरूमा फोकल व्यक्तिहरू पनि तोकिएको छ।
घाइतेहरूको पहुँच सहज होस् भनेर काठमाडौँ उपत्यकासहित सातै प्रदेशका प्रमुख अस्पतालहरूमा यी विशेष क्लिनिकहरू सञ्चालनमा ल्याइएका छन्।
काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा क्लिनिक स्थापना गरिएको छ ।
त्यसैगरी कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, बागमतीमा चितवनको भरतपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।
