वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिकास्थित एक प्रहरी पोष्टमा प्लाष्टिक ट्याङकी उपलब्ध गराइएको छ ।
गाउँपालिकाको वडा नम्बर १ मा रहेको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट महादेवपट्टीमा प्लाष्टिक ट्याङकी उपलब्ध गराइएको हो । उक्त प्रहरी बिटमा भएको खानेपानीको अभावलाई मध्यनजर गर्दै एक हजार लिटरको पानी राख्ने प्लाष्टिक ट्याङकी वितरण गरिएको सामाजिक अभियान्ता प्रकाश थारुले बताए ।
उनका अनुसार खानेपानी सरल र सुलभ व्यवस्थापन होस् भन्ने अभिप्रायले उपकार सेवा नेपालले ट्याङकी उपलब्ध गराएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण वीरगन्ज कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्लाष्टिक ट्याङकी हस्तान्तरण गरिएको उनले बताए ।
कार्यक्रममा सशस्त्र प्रहरीका पर्सा डिएसपी सुरज कार्की र युवराज योन्जन, सशस्त्र प्रहरी निरीक्षकहरु फल बहादुर थापा, अन्त बहादुर गुरुङ, हरी चन्द्र खडका तथा उपकार सेवा नेपालकी अध्यक्ष बिद्या कुमारी सरावगी, सदस्य सुमन बगेडियाको सहभागिता थियो ।