ट्रेन्डिङ

डेडिकेटेड फिडरको बक्यौता बुझाउन प्राधिकरणको २१ दिने अल्टिमेटम

वीरगन्ज । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट बिजुली प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता रकम तिर्न २१ दिने अल्टिमेटम दिएको छ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले सम्पूर्ण बक्यौता २०८१ कात्तिक १७ गतेभित्र अनिवार्य रूपमा चुक्ता गर्न उद्योगीहरूलाई निर्देशन दिएको हो। तोकिएको अवधिभित्र बक्यौता नबुझाएमा कानून अनुसार कडा कारबाही गरिने चेतावनी समेत प्राधिकरणले दिएको छ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन शुल्क नतिरेका ग्राहकहरूले अब पूर्वनिर्धारित महसुल दर अनुसार नै बक्यौता तिर्नुपर्ने भएको छ।

यसअघि, उद्योगीहरूले बक्यौताको विषयमा प्रशासकीय पुनरावलोकन गर्नका लागि जेठ २०८२ भित्र निवेदन दिन सक्ने म्याद कायम गरिएको थियो। तर, प्राधिकरण सञ्चालक समितिको असोज १० गतेको बैठकले पुनरावलोकनसँग सम्बन्धित सबै काम कारबाहीहरू बन्द गर्ने निर्णय गरेपछि उक्त सुविधा अब समाप्त भएको छ।

प्राधिकरणका अनुसार उद्योगीहरूले पछिल्लोपटक २०८१ कात्तिक २९ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार बक्यौता तिर्नुपर्ने छ।

बक्यौता रकम एकैपटक तिर्न नसक्ने उद्योगीहरूलाई प्राधिकरणले ठूलो राहत दिँदै २८ किस्तामा बिल तिर्ने सुविधा समेत उपलब्ध गराएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै