ट्रेन्डिङ

सार्वजनिक माफी मागी राजनीतिबाट सन्न्यास लिन केपी ओलीलाई प्रभु साहको सुझाव

सर्लाही । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व शैलीको कडा आलोचना गर्दै ‘हठ, घमण्ड र अहंकारले मुलुक र एमाले दुवैलाई ठूलो क्षति पुर्‍याएको’ टिप्पणी गरेका छन् ।

सर्लाहीको लालबन्दीमा आयोजित आजपा मधेश प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले ओलीलाई ‘गुण्डुमा गुण्डा भेला गर्नुको साटो’ सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्न्यास लिन सुझाव दिएका छन् ।

‘ओलीकै हठ, घमण्ड र अहंकारले मुलुक जलेको छ। युवाहरूको भावना बुझ्नुको सट्टा उनीहरूलाई प्रहार गर्नुको दशा उहाँले भोग्नुभयो। यस्तै हठ रहिरह्यो भने दुर्दशा भोग्नु नपर्ला भन्न सकिँदैन,’ साहले भने ।

अध्यक्ष साहले एमाले र नेपाली कांग्रेस दुवैलाई ठूला नेताहरूको अनुहार देखाएर राजनीति नगर्न आग्रह गरे । उनले भने, ‘बलपूर्वक हटाइएका यी बुढा नेताहरूलाई अब राजनीतिबाट स्थायी रूपमा बिदाई गर्नुको विकल्प छैन।’ उनले शेरबहादुर देउवा दम्पत्तिलाई समेत नयाँ पासपोर्ट बनाएको सन्दर्भ जोड्दै देशको माया नभएको भनी प्रश्न गरे ।

साहले अहिलेको संविधान कायम राखेर समस्या समाधान नहुने ठोकुवा गर्दै मुलुकलाई अन्तरिम सरकारका साथै अन्तरिम संविधानबाट मात्र निकास मिल्ने धारणा राखे ।

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई जनविद्रोहलाई कलंकित नपार्न चेतावनी दिँदै ‘ओली हटाएर आफू कुर्सीमा बस्न मात्रै आएको’ हो कि भनी प्रश्न गरे । उनले देशलाई झनै ठूलो सङ्कटको भूमरीमा फसाइएको भन्दै जनसंघर्षका लागि तयार रहन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै