ट्रेन्डिङ

बारामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, चार जना घाइते

बारामा शुक्रबार साँझ दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। कलैया उपमहानगरपालिका–१४, बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा शुक्रबार बेलुकी ७ः४० बजेतिर यो दुर्घटना भएको थियो।

चार जना सवार प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकल र दुई जना सवार बी आर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले दिएको जानकारी अनुसार, मृत्यु हुनेहरूमा भारतीय मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका–११, कचोर्वाकी ३७ वर्षीया जुही साह र अर्को मोटरसाइकलमा सवार महागढीमाई नगरपालिका–१ का १८ वर्षीय समशाद आलम देवान रहेका छन्। जुहीको शनिबार दिउँसो १ बजे र आलमको सोही दिन बिहान २ बजे नौतनस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

दुर्घटनामा मृतक जुहीका पति ३८ वर्षीय किशोरी साह, उनीहरूका दुई छोराहरू १३ वर्षीय कौशल साह र १२ वर्षीय कृष्ण साहसँगै अर्का एक १८ वर्षीय अफताब आलम घाइते भएका छन्। घाइते किशोरी साहको कलैया हस्पिटल प्रालिमा उपचार भइरहेको छ भने छोराहरू कौशल र कृष्णको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरी निरीक्षक नेपालका अनुसार, सोही कलेजमा उपचाररत अर्का घाइते अफताब आलमको अवस्था भने गम्भीर रहेको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै