वीरगन्ज । करिब तीन हप्तासम्म हैजाको महामारीका कारण बन्द रहेको निःशुल्क भोजन शिविर वीरगन्जमा आजदेखि पुनः सञ्चालनमा आएको छ।
वीरगन्ज समाज सेवाद्वारा नारायणी अस्पताल परिसरमा हरेक शनिबार बिहान सञ्चालन हुँदै आएको यो शिविर आज बिहान ९ बजेदेखि सुरु गरिएको हो।
शिविर पुनः सञ्चालन भएसँगै आज करिब ४५० देखि ५०० जना सर्वसाधारण, अस्पतालमा उपचार गराइरहेका बिरामी र उनीहरूका कुरुवा, रिक्सा/टेम्पो चालक, गरीब तथा असहाय व्यक्तिहरूले निःशुल्क भोजन ग्रहण गरेका छन्।
समाज सेवाका सचिव प्रकाश बाहेतीका अनुसार, आजको भोजनमा सहभागीहरूलाई भात, दाल, आलु, चनाको दाल, परवल मिक्स सब्जी, सलाद र हरियो खुर्सानीसहितको पौष्टिक आहार खुवाइएको थियो। बाहेतीले यो भोजन शिविरको मुख्य उद्देश्य अस्पतालमा रहेका बिरामी र कुरुवाहरूलाई सहयोग पुर्याउनु रहेको र दैनिक श्रमजीवी तथा निमुखा व्यक्तिहरूलाई सस्तो र पौष्टिक खाना उपलब्ध गराउनु रहेको बताए ।
आजको शिविरमा वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ता, सचिव प्रकाश बाहेती तथा सदस्यहरू अभिलाष गुप्ता, लालबाबू सिंह, राजेन्द्र भट्टराई लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।