वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार संवैधानिक प्रक्रियाबाट नभई मुलुकमा भएको तोडफोड र आगजनीको परिणामस्वरुप बनेको दाबी गरेका छन्।
सत्ताबाट बाहिरिएपछि पहिलोपटक भक्तपुरको गुन्डुमा राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको वैधानिकतामाथि प्रश्न उठाएका हुन्।
उनले भने, आफू नेतृत्वको सरकारले कुनै पनि भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गर्दै वर्तमान सरकार पारदर्शी हुन आह्वान गरेका छन्। ओलीले आफ्नो सरकारले प्रहरी तथा कर्मचारीहरूलाई दिएका निर्देशनहरू र आफूले बोलेका अभिव्यक्तिहरू सबै सार्वजनिक गर्न वर्तमान सरकारलाई चुनौती दिएका छन्।
उनले थपेका छन्, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ। हामी सबै पारदर्शी ढङ्गबाट गर्छौं।’
वर्तमान सरकारले राजनीतिक नेतृत्वको पासपोर्ट रोक्ने हल्ला चलेकोप्रति पनि ओलीले कडा आपत्ति जनाएका छन्। उनले भनेका छन्, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ ? यो हा हुँको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ र ? के सोचेका छौँ ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’
एमाले अध्यक्ष ओलीले देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्।