वीरगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन् ।
पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघका नेता कार्यकर्तासँगको भेटमा ओलीले आन्दोलनका क्रममा आफूमाथि भएको कथित खतराको खुलासा गरेका हुन् ।
भक्तपुरको गुण्डु पुगेका नेता कार्यकर्तामाझ ओलीले बालुवाटारबाट भाग्दाको क्षण सुनाउँदै आफूलाई चैत २४ गते मार्ने योजना बनेको बताए । उनका अनुसार उक्त योजनाअन्तर्गत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने ‘घाइते बनाउने र आफूलाई ‘मार्ने’ लक्ष्य राखिएको थियो।
ओलीले आफू सुरक्षाकर्मीमाथि निर्भर रहेको तर अन्तिम अवस्थामा सुरक्षाकर्मीले ‘हामी केही गर्न सक्दैनौं’ भनेर आफूलाई बालुवाटारबाट बाहिर निकालेको बताए । उनले भने, ‘पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए।’
जीवनमा यस्ता उतारचढाव र मारिने परिस्थिति धेरै आएको बताउँदै ओलीले आफ्नो मनोबल कहिल्यै कमजोर नभएको स्पष्ट पारे । उनले देशमा भइरहेको ठूलो षड्यन्त्र विरुद्ध एकजुट भएर अगाडि बढ्न तथा उच्च मनोबलका साथ सामना गर्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।
ओलीले देशै जलाउने खालका महाअपराधिक घटना र क्रियाकलाप एमालेले कुनै पनि हालतमा हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले ‘फलानालाई मार्नुपर्छ, घरमा आगो लगाउनुपर्छ’ भन्दै हिँड्नेलाई ‘कस्तो वाक स्वतन्त्रता, कस्तो तानाशाही हो ?’ भन्दै प्रश्न गरे ।
भेटमा महासंघका अध्यक्ष पासाङ शेर्पाले सबै आदिवासी जनजाति एकजुट भएर ओलीलाई साथ दिने र सामना गर्न तयार रहेको भन्दै ढाडस दिएका थिए ।