ट्रेन्डिङ

भिस्वा गोलीकाण्डः किशोरी जिस्क्याउने विवादले चल्यो गोली, तीनजना पक्राउ

वीरगन्ज। पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार बेलुकी भएको गोली प्रहार घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना किशोरलाई नियन्त्रणमा लिएको छ ।

गाउँपालिका कार्यालय पछाडिको सडकमा अपरिचित समूहको गोली लागेर भिस्वाकै १६ वर्षीय गोलु आलम घाइते भएका हुन् ।

उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ । हाल आलमको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार घटनामा संलग्न आशंकामा स्थानीय तीन किशोरलाई बिहीबार राति नै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

“गोली प्रहारको कारण अहिलेसम्म पुष्टि भएको छैन । नियन्त्रणमा लिइएकाहरू सबै टिनएजर्स (किशोर) हुन्,” उनले भने, “उनीहरूको गाउँमा चालचलन र आचरण राम्रो नभएको सुन्नमा आएको छ ।”

घाइते आलमले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार उनी साँझ घरतर्फ जाँदै गर्दा केही युवाबीच विवाद भइरहेका बेला अचानक गोली चलेको थियो ।

गोली कसले चलाएको भन्ने भने उनले देख्न नसकेको बताएका छन् ।

स्थानीयका अनुसार भिस्वा बजारबाट झलमहियातर्फ घर फर्किँदै गरेका किशोरी र युवतीलाई जिस्क्याउने, छेडखानी गर्ने विषयलाई लिएर भिस्वा र झलमहियाका युवाबीच विवाद हुँदै आएको थियो ।

बिहीबार बेलुकी सोही विवाद चरममा पुग्दा गोली चलेको बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै