ट्रेन्डिङ

‘१९ माघ’को प्रसंग जोड्दै योगेश भट्टराईले उठाए पार्टी पुनर्गठनको एजेन्डा

वीरगन्ज । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा गहिरो आत्मसमीक्षा र पुनर्गठनको आवश्यकता रहेको भन्दै एक महत्वपूर्ण आह्वान गरेका छन्।

हालै जेनजी विद्रोहपछि देशमा आएको राजनीतिक परिवर्तनलाई मनन गर्दै भट्टराईले भिडियो सन्देशमार्फत पार्टीका नेता कार्यकर्तालाई पुनर्गठन अभियानमा जुट्न आग्रह गरेका छन्।

सचिव भट्टराईले इतिहासका हरेक सङ्कटका मोडमा पार्टीहरू पुनर्गठित भएको सत्यलाई बिर्सन नहुनेमा जोड दिएका छन्। उनले भनेका छन्, ‘आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं। त्यही स्वीकारोक्ति सहितको अभियानका लागि अपिल समेत गर्दछु।’

भट्टराईले सङ्कटका बेला पार्टी पुनर्गठन भएका थुप्रै उदाहरण दिँदै एमालेकै इतिहासको एक महत्वपूर्ण सन्दर्भलाई सम्झाएका छन्। उनले १९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जस्तै सन्नटा छाएको बताए।

उनले सम्झिए, ‘त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुनर्गठनको बहस चलायो। अन्ततः नेकपा एमालेको नवौं महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्‍यो। पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्‍यो। पार्टी बच्यो, आन्दोलन सफल भयो।’

भट्टराईले पार्टीको पुनर्गठनले नेतृत्वको समेत सम्मान बढाएको प्रसङ्ग उल्लेख गरे।

पार्टीका कमजोरी स्वीकार नगर्दा त्यसले विरोधीहरूलाई लाभ पुग्ने भट्टराईको तर्क छ। उनले महान् क्रान्तिकारी नेता लेनिन को भनाइ उद्धृत गर्दै भने, ‘क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन। कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै