ट्रेन्डिङ

निर्वाचन आयोगले दलसँग संवाद गर्ने, मतदाता नामावली सङ्कलन खुल्ने

वीरगन्ज । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूसँग संवाद गर्ने तयारी गरेको छ।

आयोगका अधिकारीहरू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने र त्यसपछि दलहरूसँग छलफल गर्ने प्रक्रियामा जुटेका छन्।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगले मतदाता नामावली सङ्कलनका लागि भोलि शुक्रबारदेखि कात्तिक महिनाभरि समय उपलब्ध गराउने तयारी गरेको छ। आज दिउँसो बस्ने आयोगको बैठकले सरकारले हिजो बुधबार ल्याएको मतदाता नामावली खुलाउने अध्यादेश अनुसार सङ्कलन कार्य खुलाउने निर्णय गर्नेछ।

आयोगले राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहिता, प्रचलित कानुनको पालना र उम्मेदवार छनोटसम्बन्धी कानुन कार्यान्वयन लगायतका विषयमा स्मरण गराउनेछ। विगतमा जस्तै यस संवादमा दलहरूले आफ्ना व्यवहारिक पक्षहरू राख्ने र त्यसलाई निरन्तरता दिने आयोगको लक्ष्य छ। सूचना अधिकारी घिमिरेले विषयका आधारमा राजनीतिक दलहरूसँग संवाद हुने जानकारी दिए।

प्रतिनिधि सभाको साथसाथै आयोगले राष्ट्रिय सभाको निर्वाचनको विषयमा समेत राजनीतिक दलहरूको राय बुझ्न खोजेको छ। आयोगका एक आयुक्तले आगामी माघ महिनामै राष्ट्रिय सभाको निर्वाचन हुनेमा आयोग विश्वस्त रहेको बताएका छन्। उनका अनुसार, राष्ट्रिय सभाको निर्वाचनका लागि आयोगलाई कुनै अप्ठ्यारो नहुने र मतदाता निश्चित भएकाले सात प्रदेशमा सात निर्वाचन अधिकृत तोकेर प्रक्रिया अगाडि बढाउन सकिने अवस्था छ। यसका लागि सरकार र राजनीतिक दलहरूको सकारात्मक धारणा आउने आयोगको अपेक्षा छ।

आयोगको तयारी अनुसार कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरी त्यसपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ। यसपटक मतदाताहरूले अनलाइनबाट पनि नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। यससम्बन्धी कार्यविधि बनाएर त्यसलाई पास गरी कार्यान्वयनमा ल्याउने तयारी आयोगको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै