सिरहा । नेपाल विद्युत् प्राधिकरण, लहान वितरण केन्द्र को वित्तीय अवस्था नाजुक बन्दै गएको छ।
केन्द्रमा विद्युत् महसुलको बक्यौता रकम ४४ करोड रुपैयाँ नाघेको छ भने चुहावट दर पनि डरलाग्दो गरी बढेको छ।
आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्मको तथ्याङ्क अनुसार, केन्द्रको बाँकी बक्यौता ४४ करोड ९२ लाख ५७ हजार १८४ रुपैयाँ पुगेको छ। केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार बक्यौता तिर्न बाँकी हुनेमा उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहक प्रमुख छन्।
प्रमुख गुप्ताले लहान नगरपालिकाले मात्र कृषि सिँचाइ मिटरअन्तर्गत रु १ करोड ३९ लाख ८७ हजार ६२२ तिर्न बाँकी रहेको जानकारी दिएका छन्। ६० दिनभित्र महसुल तिर्नुपर्ने नियम भए पनि लहानमा औसतमा नौ महिनासम्म पनि बक्यौता असुल हुन सकेको छैन। बक्यौता असुल गर्न केन्द्रले हालसम्म लाइन काट्ने अभियानबाट रु १७ लाख ३२ हजार ३१२ मात्र सङ्कलन गर्न सफल भएको छ।
यसका साथै, विद्युत् चुहावटको दर पनि चिन्ताजनक रूपमा बढेको छ। आव २०८०/८१ मा ३१.६५ प्रतिशत रहेको चुहावट आव २०८१/८२ मा बढेर ३८.१० प्रतिशत पुगेको थियो, जुन चालू आवको साउन मसान्तसम्म ४४.४६ प्रतिशत पुगेको छ। यस अवधिमा प्राधिकरणले ७०३ ग्राहकलाई कारबाही गरी रु ३१ लाख ५४ हजार २२५ चुहावट महसुल असुल गरेको छ।
प्रमुख गुप्ताले बक्यौता असुल गर्न अब लाइन काट्नुबाहेक अर्को विकल्प नरहेको बताएका छन्। लहान वितरण केन्द्रले लहानसहित सुखीपुर, धनगढीमाई नगरपालिकालगायत सिरहाका विभिन्न गाउँपालिकाहरूमा सेवा दिँदै आएको छ।