वीरगन्ज । नेपालको राजनीतिमा कम्युनिस्ट तथा समाजवादी शक्तिहरूको ध्रुवीकरणले तीव्रता पाएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बीच पार्टी एकताको औपचारिक प्रक्रिया सुरु भएको छ।
यी चार दल हाल समाजवादी मोर्चामा आबद्ध छन् र उनीहरूले मोर्चालाई नै एकीकृत पार्टीमा रूपान्तरण गर्नेगरी गृहकार्य अगाडि बढाएका छन्।
हालै बसेका दलहरूका बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूबीच एकता गरेर अघि बढ्ने निर्णय गरेसँगै यो प्रक्रियाले गति लिएको हो। माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भदौ ३ गते नै सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्तिहरूलाई एकताबद्ध हुन औपचारिक अपिल जारी गरिसकेको छ। उसले एकता र सहकार्यका लागि पहलकदमी बढाउने निर्णय समेत गरेको छ।
यसैगरी, विप्लव नेतृत्वको नेकपाले पनि कम्युनिस्ट एकता गर्ने औपचारिक निर्णय गर्दै भदौ २३ देखि २६ सम्म बसेको केन्द्रीय समिति बैठकबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली समेत गठन गरेको छ। यस टोलीले माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीहरूसँग एकता र ध्रुवीकरणबारे छलफल गर्नेछ।
उता माओवादी केन्द्रले पनि एकताको तयारीलाई प्राथमिकतामा राखेको छ। साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले नेकपा लगायत कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बसेको केन्द्रीय समिति बैठकमा समाजवादी मोर्चाका घटकसँग पार्टी एकतासँगै देशभक्त र परिवर्तनका पक्षधरसँग बृहत् मोर्चा बनाउने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।
यी सबै दलका नेताहरूले समाजवादी मोर्चालाई नै एकतामा रूपान्तरण गर्ने मुख्य लक्ष्य रहेको बताएका छन्। एकीकृत समाजवादीका नेता बेदुराम भुसालका अनुसार तीनवटै कम्युनिस्ट पार्टीले औपचारिक फोरमबाट निर्णय गरेपछि एकताको ढोका खुलेको छ।
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले पनि विचार मिल्ने शक्तिसँग पार्टी एकता वा बृहत् मोर्चाको पहल स्वाभाविक रहेको बताउँदै सकेसम्म मोर्चालाई एकतामा बदल्ने प्रयास भइरहेको जानकारी दिएका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि विकसित राजनीतिक घटनाक्रमले पुराना दलहरूलाई एकता र रूपान्तरणका लागि दबाब दिएको विश्लेषण गरिएको छ। यसैको परिणाम स्वरूप प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार सत्ताच्युत भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ र आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा भइसकेको छ।
यो तीव्र राजनीतिक फेरबदलका बीच कम्युनिस्ट तथा समाजवादी शक्तिहरूको एकता प्रयासलाई आगामी निर्वाचनको तयारीका रूपमा पनि हेरिएको छ।