वीरगन्ज । नेकपा माओवादी केन्द्रले समाजवादी मोर्चा र विचार मिल्ने पार्टीहरूसँग एकताका लागि प्रभावकारी पहल गर्ने प्रस्ताव तयार गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटीको बैठकले यो प्रस्ताव पारित गरेको हो।
बैठकपछि पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले दिएको जानकारीअनुसार, माओवादीले ‘जेनजी’ लगायत लोकतन्त्र र परिवर्तनका पक्षधरहरूसँग वार्ता तथा संवाद गरेर समझदारी कायम गर्ने र सबै देशभक्त तथा परिवर्तनकारी शक्तिहरूलाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गर्ने रणनीति लिएको छ।
प्रवक्ता सापकोटाले स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी विघटन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा विशेष महाधिवेशनमा जाने प्रस्ताव तयार गरेको जानकारी दिए। यसको अनुमोदन बिहीबार कमलादीस्थित प्रज्ञा भवनमा बस्ने केन्द्रीय कमिटीको बैठकले गर्नेछ।
माओवादी केन्द्रले तोकिएकै समयमा निर्वाचन गराउन सरकारलाई पुनः ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। पार्टीले यसका लागि आवश्यक भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएको छ।