वीरगन्ज । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले नेपालको वर्तमान संघीय संरचनामा कुनै परिवर्तन नहुने स्पष्ट पारेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री खनालले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रदेश संरचना खारेज गर्ने कुनै सोच नरहेको बताए। उनले वर्तमान सरकार संविधानबमोजिम चलिरहेकाले प्रदेश खारेजीको सम्भावना शून्य रहेको प्रस्ट पारेका हुन्।
मन्त्री खनालले अन्य दुई महत्त्वपूर्ण विषयमा पनि आफ्नो धारणा राखेका छन्। उनले एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउने विषयमा हाल कुनै पनि छलफल नभएको बताएका छन्। यस्तै, भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’ (जीएसटी) घटाएको विषयमा सरकारले अध्ययन गरिरहेको उनले जानकारी दिए। यस करका कारण नेपालको उद्योग व्यवसायमा नकारात्मक असर परेको खण्डमा सुधारका कदम चालिने आश्वासन पनि उनले दिएका छन्।