जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकार अल्पमतमा परेको छ।
मुख्यमन्त्री सिंहले राजीनामा नदिएर विश्वासको मत लिने अडान लिएका छन् भने कांग्रेसले सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको छ। यता, नेकपा एमाले प्रदेशको ठूलो दल भएकोले उसले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्न सक्छ । यस राजनीतिक उथलपुथलले अब मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि विभिन्न समीकरणको सम्भावना देखिएको छ।
१) एमाले–कांग्रेस–जसपा गठबन्धनको सम्भावना
मधेश प्रदेशमा सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेले सरकारको नेतृत्व दाबी गर्ने र नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)लाई मिलाएर सरकार बनाउने सम्भावना छ। यस समीकरणमा एमाले २३ सिट(एक जना सभामुख र एक जना निलम्बन), कांग्रेस २२ सिट र जसपा १९ सिट मिलेमा उनीहरूको कुल सिट संख्या ६४ पुग्छ। यो सरकार गठनका लागि आवश्यक ५४ सिटभन्दा धेरै हो। यद्यपि, केन्द्रको नेतृत्वसँगको छलफल पछि नै यो सरकार बन्न सक्ने सम्भावना रहन्छ ।
२) कांग्रेस–जसपा–माओवादी केन्द्रसहितको गठबन्धन
अर्को सम्भावना नेपाली कांग्रेसले जसपा नेपाल, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलाएर सरकार बनाउन सक्छ । कांग्रेस २२ सिट, जसपा १९ सिट, माओवादी केन्द्र ९ सिट र एकीकृत समाजवादी ७ सिट मिलेमा ५७ सिट पुग्छ। यसमा थप केही साना दलहरूलाई समेट्न सक्छन्, जसले सरकार गठनको बाटो सहज बनाउन सक्छ।
३) कांग्रेसबाहेक एमालेको नेतृत्वमा सरकार
मुख्यमन्त्री सिंहले विश्वासको मत लिन नसकेको अवस्थामा एमालेले पनि सरकारको नेतृत्व दाबी गर्न सक्छ। एमाले २३ सिटले जसपा नेपाल १९ सिट, लोसपा ८ सिट (एक जना निलम्बन) र जनमत पार्टी १३ सिटलाई मिलाएर सरकार बनाउने सम्भावना पनि छ। यी चार दल मिलेमा ६३ सिट पुग्छ, जसले बहुमत पुर्याउन सहज हुन्छ।
४) पुरानै गठबन्धनमा पुन: एकता
अहिलेको राजनीतिक संकटले गर्दा पुरानै गठबन्धनका दलहरू फेरि एक ठाउँमा आउने सम्भावनालाई पनि नकार्न सकिँदैन। मुख्यमन्त्री सिंहले राजीनामा दिए जनमतले संसदीय दलका नेता महेश यादवले कांग्रेससँग फेरि सहकार्य गरेर सरकारमा जाने बाटो खुल्न सक्छ। तर, वर्तमान परिस्थितिमा यो सम्भावना कम देखिएको छ।
मधेश प्रदेशमा अब कसले सरकार बनाउला भन्ने कुरा आउँदो केही दिनको राजनीतिक समीकरणले स्पष्ट पार्नेछ। अहिले मुख्यमन्त्री सिंह विश्वासको मत लिने अडानमा रहेकाले प्रदेशको राजनीति थप पेचिलो बनेको छ।
कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा अहिले कांग्रेसको २२, एमालेको २५ (सभामुख र एक जना निलम्बनसहित), जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को ९(एक जना निलम्बनसहित, जनता समाजवादी पार्टी, नेपालको १९, नेकपा माओवादी केन्द्रको ९, नेकपा एकीकृत समाजवादी को ७, नागरिक उन्मुक्ति पार्टीको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल संघीय समाजवादी पार्टीको १ सिट रहेको छ।