वीरगन्ज । सशस्त्र प्रहरी बलले पर्साको पोखरिया नगरपालिका–७, जगतपुर मननपुर गाउँबाट ठूलो मात्रामा अवैध लागुऔषध चरेस बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बी.ओ.पी. प्रसौनी भठ्ठाले विशेष सूचनाका आधारमा सोमबार राति १ बजे गरेको कारबाहीमा १९ किलो १ सय २६ ग्राम चरेस फेला पारेको हो।
सशस्त्र प्रहरी निरीक्षक चेतन बाहकोटीको नेतृत्वमा खटिएको ६ जनाको गस्ती टोलीले उक्त गाउँको एउटा सानो फुसको छाप्रोलाई घेरा हालेर खानतलासी गर्दा कार्टुनमा राखिएको दुईवटा कालो झोलाभित्र चरेस भेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
छाप्रोमा कोही पनि व्यक्ति नभेटिएपछि थप कारबाहीका लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस, पोखरियाबाट नायब उपरीक्षक शम्भु कटुवालको टोली घटनास्थल पुगेको थियो। बरामद गरिएको उक्त लागुऔषधलाई आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय, पोखरियामा बुझाइएको छ।
यो बरामदगीले यस क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निकायले सक्रियता बढाएको देखाउँछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।