वीरगन्ज । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले नेपाली कांग्रेसलाई ठूलो भौतिक क्षति पुर्याएको छ।
पार्टीले आज जारी गरेको विज्ञप्तिमा देशभरका ४८ जिल्ला कार्यालयमा क्षति पुगेको र पार्टीका शीर्ष नेताहरुको निवासमा समेत तोडफोड, लुटपाट र आगजनी भएको उल्लेख छ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार, प्रदर्शनकारीले केन्द्रीय कार्यालयमा पनि आगजनी गरी पूर्णरुपमा ध्वस्त पारेका छन्। यसबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको कांग्रेसले प्रारम्भिक अनुमान गरेको छ।
जेनजी आन्दोलनका क्रममा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायत उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिसहितका ९५ जना नेताहरुको निजी निवासमा आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ। यो घटनाले पार्टीभित्र र बाहिर चिन्ता बढाएको छ।
कांग्रेसले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। पार्टीले घटनाको निष्पक्ष र सत्य(तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
विज्ञप्तिमा कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई यस्तो जटिल र संवेदनशील परिस्थितिमा आवेग र उत्तेजनाबाट टाढा रहँदै विवेक, संयम र धैर्यता अपनाउन अनुरोध गरेको छ। यो घटनाले राजनीतिक आन्दोलनमा हुने हिंसाको गम्भीरतालाई फेरि एकपटक उजागर गरेको छ।