ट्रेन्डिङ

रौतहटमा तरकारीको गाडीबाट ३३४ किलो गाँजा बरामद, चालक फरार

रौतहट । प्रहरी गस्ती टोलीले रौतहटको ईशनाथ नगरपालिका-८, मोतीपुर बाट ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ।

भारतीय सीमातर्फ जाँदै गरेको तरकारी बोकेको पिकअप भ्यानबाट लुकाइछिपाइ लगिँदै गरेको ३३४ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार, प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा गएको गस्ती टोलीले राति करिब ८ बजेको समयमा गाडीको जाँच गर्दा उक्त गाँजा फेला पारेको थियो।

पिकअप भ्यान प्रदेश ३—०१–०२२ च १८६१० को माथिल्लो भागमा २० पोका काउली राखिएको थियो भने त्यसको तल लुकाएर २६ पोका गाँजा राखिएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीलाई देख्नेबित्तिकै गाडी चालक भने फरार भएकाले गाडी नियन्त्रणमा लिई चालक र अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको डीएसपी कार्कीले जानकारी दिए।

हालैको जेनजी आन्दोलनका कारण प्रहरी युनिटमा भएको क्षतिका कारण गस्तीमा कमी आएको मौका छोपेर तस्करहरूले पुनः सक्रिय हुन खोजेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै