वीरगन्ज । जेनजी पुस्ताको आन्दोलनका क्रममा आफ्नै निवासमा कुटिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न राजी भएका छन्।
तर, उनी नेतृत्व छोड्न तयार भए पनि उनकै गुट (संस्थापन समूह)का नेताहरूले भने ‘परिस्थिति नबदलिएसम्म नछाड्न’ भन्दै उनीमाथि दबाब बढाएका छन्।
देउवाले विशेष महाधिवेशन वा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्ने दुवै विकल्पमा सहमति जनाएका छन्। तर, उनकै गुटका नेताहरू यी दुवै विकल्पको विपक्षमा उभिएका छन्।
स्रोतका अनुसार, यदि विशेष महाधिवेशन भएमा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा को समूह हावी हुने डरले संस्थापन समूहले देउवालाई अहिले नै नेतृत्व नछाड्न दबाब दिएको छ।
कार्यवाहक सभापति तोक्ने विकल्पमा पनि समस्या छ। यदि पूर्णबहादुर खड्कालाई कार्यवाहक दिइएमा उनी नै देउवाको उत्तराधिकारी बन्ने सम्भावना रहेको भन्दै संस्थापन समूहका अन्य नेताहरूले यसको विरोध गरेका छन्। देउवाको गुटभित्रै कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला जस्ता नेताहरू पनि उत्तराधिकारीको दौडमा छन्।
यता, संस्थापनइतर समूहका नेता डा। शेखर कोइराला पनि विशेष महाधिवेशनको पक्षमा छैनन्। उनी नियमित महाधिवेशन नै मंसिरमा हुने भएकाले त्यसैबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिन्छन् र कार्यवाहकको विकल्पको पनि विपक्षमा छन्।
पार्टीभित्र दबाब बढाउँदै महामन्त्री गगन थापा ले सामाजिक सञ्जालमार्फत पार्टी पुनर्गठनका लागि दबाब दिइरहेका छन्। उनले विशेष महाधिवेशन वा विधान निलम्बन गरेर भए पनि तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा अडान लिएका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि नेतृत्व परिवर्तनको पक्षमा छन्। तर, गगन थापा कार्यवाहक तोक्ने पक्षमा भने छैनन्, किनकि यसले नेतृत्व परिवर्तन भएको सन्देश नदिने उनको बुझाइ छ।
जेनजी आन्दोलनमा आफ्नै निवासमा आक्रमणबाट गम्भीर घाइते भई अस्पतालमा उपचाररत देउवा र उनकी श्रीमती आरजु राणा देउवामाथि भएको आक्रमणको सन्दर्भ जोड्दै देउवा गुटका प्रवक्ता प्रकाशशरण महतले महामन्त्रीद्वयको चर्को आलोचना गरेका छन्। उनले ‘आलो घाउ ठीक नहुँदै नेतृत्व परिवर्तनको बहस चलाउनु दुर्भाग्यपूर्ण’ भएको बताए।