ट्रेन्डिङ

कांग्रेस–एमालेको सरकारले नै जेनजी आन्दोलनको पृष्ठभूमि तयार पार्यो : वर्षमान पुन

वीरगन्ज । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालमा हालै भएको जेनजी आन्दोलनको लागि कांग्रेस र एमालेलाई जिम्मेवार ठहर्याएका छन्।

उनले गत वर्षको असारमा दुई ठूला दल मिलेर सरकार बनाएपछि नै यसको पृष्ठभूमि तयार भएको बताएका छन्।

पुनले भने कि केपी ओली नेतृत्वको सरकारले सुशासन, सार्वजनिक सेवा र विकासलाई बेवास्ता गरी बिचौलिया र स्वार्थ समूहलाई प्राथमिकता दिएकाले जनतामा असन्तोष बढ्यो। यही असन्तोष जेनजी आन्दोलनका रूपमा विस्फोट भएको उनको दाबी छ।

जन प्रगतिशील मञ्च जापानसँगको भर्चुअल अन्तरक्रियामा पुनले प्रमुख प्रतिपक्षको रूपमा आफ्नो पार्टीले पटक–पटक सरकारलाई जनताको सेवामा लाग्न आग्रह गरेको भए पनि बेवास्ता गरिएको गुनासो गरे। उनले भने, ‘सत्तामा बसेका काँग्रेस र एमालेले सुनेनन्। दुई तिहाइको शक्ति पूरा स्वार्थ समूहको सेवामा समर्पित भयो।’

आन्दोलनका क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालयहरूमा आगजनी भएकोमा पुनले चिन्ता व्यक्त गरे। उनले यस्तो क्षतिको नैतिक जिम्मेवारी कुशासनका मतियार अर्थात् कांग्रेस र एमालेले लिनुपर्ने तर्क गरे।

पुनका अनुसार जेनजी आन्दोलनको मुख्य कारण आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक अवस्था भए पनि यसमा भू–राजनीतिको भूमिका पनि सहायक रहेको छ। उनले अमेरिका, रूस, चीन र भारतजस्ता शक्ति राष्ट्रबीचको प्रतिस्पर्धाको प्रभाव नेपालमा पनि देखिएको बताए।

यस्तो अवस्थामा मुलुकको राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक चलखेल रोक्न सबै पक्षबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ छ।

अन्त्यमा, पुनले जेनजी आन्दोलनले राजनीतिक दलहरूको नेतृत्व र राज्यका संरचनाहरूमा आमूल परिवर्तनको सन्देश दिएको बताए। उनले माओवादीलाई बदनाम गर्न आन्दोलनको मौका छोपेर पार्टी कार्यालय र नेताहरूको निवासमा आक्रमण गरिएको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै