जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त भएका सरकारी कार्यालयहरूले बडादसैंपछि पूर्ण रूपमा सेवा प्रवाह गर्ने बताएका छन्।
आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले तोडफोड र आगजनीले भौतिक संरचनामा व्यापक क्षति पुगेकाले मर्मत तथा सुधारका लागि थप समय लाग्ने स्पष्ट पारेका हुन्।
मुख्यमन्त्री सिंहले सुरक्षा अवस्थामा सुधार आएपछि विभिन्न मन्त्रालय र कार्यालयमा कर्मचारीहरू काममा फर्कन थालेको जानकारी दिए। यद्यपि, काम गर्नका लागि आवश्यक भौतिक संरचनाको अभाव रहेकोले सामान्य अवस्थामा फर्कन अझै केही दिन लाग्ने उनको भनाइ छ।
जेनजी प्रदर्शनका क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा भवन, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयसहित अन्य सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो। सवारीसाधनमा समेत क्षति पुगेको थियो भने सुरक्षा अभावको मौका छोपेर सामानहरू लुटिएका थिए।
क्षतिग्रस्त संरचनाको मूल्याङ्कनका लागि प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। मुख्यमन्त्री सिंहले उक्त समितिको प्रतिवेदनका आधारमा पुनर्निर्माणको काम अगाडि बढ्ने र चाँडै नै सबै कार्यालयहरू सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरे।