जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित आफ्नो ऐतिहासिक निवासमा भएको आगजनीको अनुगमन गर्दै गहिरो भावुकता व्यक्त गरेका छन्।
देश बाहिर रहेको बेला भएको यस घटनापछि पहिलो पटक निवास पुगेका कोइरालाले जलेर खण्डहर बनेको घरलाई हेर्दै गहभरि आँसु पारेका थिए।
पत्रकारसँग कुराकानी गर्ने क्रममा कोइरालाले भने, ‘यो घर होइन, यसको इतिहास भएर नै तपाईंहरू यहाँ आउनुभएको हो। म त यहीँ जन्मिएँ, यहीँ हुर्किएँ, यहीँ पढेँ, यहीँ बसेँ।’ यति भनिरहँदा उनको बोली अवरुद्ध भएको थियो। उनले हात जोडेर यस घरलाई लोकतन्त्रको धरोहरको संज्ञा दिँदै यसलाई फेरि उठाउने प्रतिबद्धता जनाए।
कोइराला निवास सामान्य घर नभएर नेपाली राजनीतिक इतिहासको साक्षी हो। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई कृष्णप्रसाद कोइरालाले फाटेको भोटो पठाएर राणा शासनविरुद्ध आन्दोलनको बिउ रोपेको यही घरबाट थियो। मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाजस्ता हस्तीहरू यही घरबाट हुर्केर देशको नेतृत्वमा पुगेका थिए।
यता, पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको पार्टी पुनर्गठनको प्रस्तावबारे अहिले नै कुनै धारणा सार्वजनिक गर्न हतार नगर्ने डा. कोइरालाले बताए। उनले अहिले प्रारम्भिक छलफल मात्र भएको र केन्द्रीय समितिले निर्णय नगरी बोल्न नसकिने स्पष्ट पारे।
यसैगरी, डा. कोइरालाले देशको संविधानलाई ट्र्याकमा ल्याउन निर्वाचन एकमात्र उपाय भएको बताएका छन्। उनले संविधानको धारा ६१ को उपधारा ४ टेकेर राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन घोषणा गरेकोमा प्रशंसा गर्दै यसले संविधानलाई डिरेल हुनबाट जोगाएको बताए। उनले जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गर्न पार्टीको ध्यान नपुगेको स्वीकारेका छन्।