वीरगन्ज । राष्ट्रपति रामचन्द्र पौडेलले हालैको जेनजी आन्दोलनपछि प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको भन्दै अहिलेको अन्तरिम सरकार आम सहमतिको आधारमा बनेको बताएका छन्।
संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै उनले यो कुरा स्पष्ट पारेका हुन्।
उनले छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सबैलाई एकजुट हुन आह्वान गर्दै भने, ‘नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ।’ पौडेलका अनुसार, अहिले बनेको अन्तरिम सरकारको मुख्य कार्यभार राष्ट्रिय क्षतिको पुनर्निर्माण गरी समयमै निर्वाचन सम्पन्न गरेर जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नु हो।
राष्ट्रपति पौडेलले आफूले देशको अभिभावकको रूपमा भूमिका निर्वाह गरिरहेको बताउँदै भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्ततालाई सम्हाल्न सबैको साथ र सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे।
उनले जेनजी पुस्ताको मागलाई सम्बोधन गर्दै सुशासन, बेथितिको अन्त्य, रोजगारी सिर्जना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले भने, ‘जेनजी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथिति अन्त्य होस् भन्ने कुरा सबैले मनन गरौं र सुध्रिएर अघि बढ्ने अठोट गरौं।
राष्ट्रपतिले भदौ २३ र २४ गते भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सबै राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायलाई सहमति र सहकार्यका साथ निर्वाचनको सफलताका लागि क्रियाशील हुन आग्रह गरे।
चियापान समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै जेनजी आन्दोलनका प्रतिनिधिहरू पनि सहभागी थिए।