जनकपुरधाम । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिश कुमार सिंह र सभामुख रामचन्द्र मण्डलसहितको उच्चस्तरीय टोलीले हालैको आन्दोलनका कारण भएको क्षतिबारे स्थलगत निरीक्षण गरेको छ।
टोलीले आगजनी र तोडफोडबाट प्रभावित प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन र अन्य सरकारी कार्यालयहरूको अवलोकन गरेको हो।
यस अवलोकनको उद्देश्य आन्दोलनबाट सरकारी सम्पत्तिमा पुगेको क्षतिको यथार्थ अवस्था बुझ्नु र त्यसको पुनर्निर्माण तथा मर्मतका लागि आवश्यक कदम चाल्नु रहेको जनाइएको छ। आन्दोलनका क्रममा विभिन्न सरकारी भवनमा तोडफोड र आगजनी हुँदा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।