वीरगन्ज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा आन्दोलन को मर्म र भावनालाई संविधानको चौतारोभित्रै रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हालै जेनजी आन्दोलनको सम्बोधन र अन्तरिम सरकारको गठनले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको बताए।
उपराष्ट्रपति यादवले नेपालको संविधानलाई नेपाली जनताको लामो सङ्घर्ष र विविधताको ऐतिहासिक उपलब्धिका रूपमा चित्रण गरे। यो दस्तावेजले नेपालको राष्ट्रिय आकाङ्क्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको जग बसालेको उनको भनाइ छ।
उनले मौलिक हकहरूको पूर्ण कार्यान्वयन, सङ्घीय संरचनाको सुदृढीकरण र शक्ति–स्रोतको न्यायोचित बाँडफाँटमा सबै पक्षको सक्रियता आवश्यक रहेकोमा जोड दिए। उपराष्ट्रपति यादवले प्रदेश र स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न बनाउने कार्यले सङ्घीय प्रणालीप्रति जनविश्वास कायम राख्न निर्णायक भूमिका खेल्ने बताए।
सन्देशमा उपराष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक आन्दोलन र जेनजी प्रदर्शनका क्रममा जीवन उत्सर्ग गर्ने सबै शहीदप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति सम्मान व्यक्त गरेका छन्। उनले संविधानले न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँधेको बताए।