वीरगन्ज । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सबै नेपालीलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
उनले संविधानको मर्म र भावनालाई व्यवहारमा उतार्न सबै नागरिकलाई इमान्दार प्रयास गर्न आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको उल्लेख गरे।
उनका अनुसार, यस संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाबाट सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधताले भरिएको नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ।
राष्ट्रपतिले राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, उनले आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिनुपर्ने पनि बताए।
पौडेलले मुलुकको संस्कृति र प्रकृतिमा रोजगारी र आम्दानीको असीमित सम्भावना रहेको औंल्याए। उनले सबै प्रकारका बेथिति अन्त्य गरी सुशासन कायम गर्न सके र जलस्रोत तथा ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके नेपाल छिट्टै समृद्ध राष्ट्र बन्ने विश्वास व्यक्त गरे।