ट्रेन्डिङ

संविधान र राष्ट्रपति संस्था बचाउन मैले मध्यस्थता गरेँ : प्रचण्ड

वीरगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा एक सनसनीपूर्ण खुलासा गर्दै जेनजी आन्दोलनको आडमा केपी ओली नेतृत्वको सरकार ढलेपछि संविधान र राष्ट्रपति संस्था खारेज गर्न खोजिएको दाबी गरेका छन्।

उनले आफूले त्यसलाई बचाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन अवस्थामा आफूले मध्यस्थता नगरेको भए देश गम्भीर सङ्कटमा पर्ने बताए। उनले भने, ‘इतिहासले मलाई यो प्रक्रियामा कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो। मैले संसद विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपति हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने र बुझ्ने अवसर पाएँ।’

प्रचण्डका अनुसार, यो गम्भीर परिस्थितिमा उनले राष्ट्रपति र प्रधान सेनापतिसँग रातभर छलफल गरेका थिए। उनले थपे, ‘अन्तिममा, मैले रातभर बसेर सम्माननीय राष्ट्रपति, प्रधान सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरी अन्तरिम सरकारको यो रूपमा गएर पनि संविधान बचाउनुपर्छ भनेँ।’

वर्तमान संविधानलाई ‘सामान्य’ नभएको बताउँदै प्रचण्डले यसको संरक्षणका लागि माओवादीको ठूलो योगदान रहेको दाबी गरे। उनले राष्ट्रपति संस्थालाई ‘जुनसुकै हालतमा’ बचाउनुपर्नेमा जोड दिए। यस क्रममा उनले प्रधान सेनापतिको पनि प्रशंसा गरे, जसले राजनीतिक निकास ननिस्केमा मुलुक ‘भयानक अप्ठेरोमा’ जानसक्ने भन्दै समन्वयकारी भूमिका खेलेको प्रचण्डको भनाइ छ।

यसैबीच, जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको घटनामा ‘घुसपैठ’ भएको पनि प्रचण्डले बताए। उनले शान्तिपूर्ण प्रदर्शनका लागि अपिल गर्दागर्दै पनि यस्ता घटना हुनु शंकास्पद रहेको उनको भनाइ छ।

उनले वर्तमान संविधानलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी को व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै