ट्रेन्डिङ

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

वीरगन्ज । नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ।

यो जानकारी मोदीले आफ्नै ‘एक्स’ (पहिलेको ट्विटर) ह्यान्डल मार्फत सार्वजनिक गरेका हुन्। वार्ताका क्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्कीको सरकारलाई भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले हालै नेपालमा भएको ‘जेनजी युवा आन्दोलन’का क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकका परिवारलाई समवेदना पनि प्रकट गरेका छन्।

मोदीले लेखेका छन्, ‘नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग आत्मीय कुराकानी भयो। हालैको दुःखद घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक समवेदना व्यक्त गरें।’

उनले नेपालमा शान्ति र स्थिरताका लागि भइरहेका प्रयासहरूमा भारतको ‘अटल समर्थन’ रहने कुरा पुनः दोहोर्याएका छन्। मोदीले असोज ३ गते मनाइने नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना पनि दिएका छन्।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेलगत्तै मोदीले उनलाई बधाई दिएका थिए। आजको टेलिफोन वार्ता दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्ने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै