वीरगन्ज । जनमत पार्टीका ६ जना नेताहरूले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्।
पार्टी अध्यक्षको कार्यशैली र युवा आन्दोलनप्रति उनले लिएको अडानप्रति असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवसहित ६ जना नेताले राजीनामा दिएका हुन्।
राजीनामा दिनेहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा। शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बम रहेका छन्।
नेताहरूले आफ्नो राजीनामा पत्रमा पार्टी अध्यक्षले ‘जेनजी पुस्ताले बगाएका रगतको अपमान’ गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, पार्टीको नेतृत्वले आत्मआलोचना गरी नेतृत्व परिवर्तन गर्न आफूहरूले माग गर्दा त्यसलाई अध्यक्षले बेवास्ता गरेका छन्। अध्यक्षले सामाजिक सञ्जालमार्फत ‘अहंकारको भाषा’ प्रयोग गरी नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गरेकोले आफूहरूको ध्यानाकर्षण भएको उनीहरूले बताएका छन्।
राजीनामा पत्रमा उनीहरूले भनेका छन्, ‘हामीले माग गरेको राजीनामा पत्रलाई तपाईले अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गर्नुभएको छ।’ यसैलाई आधार मानेर आजकै मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उनीहरूले स्पष्ट पारेका छन्।
राजीनामा दिने नेताहरूले आफूहरू कुनै पद स्वार्थको राजनीतिमा नरहेको र जनभावना तथा नयाँ पुस्ताको चाहनाअनुसार उनीहरूकै नेतृत्वमा सामेल भई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनीहरूले लामो समयदेखि साथ र सहयोग दिने जनमत पार्टीका शीर्ष नेतृत्वसहित सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन्।
