वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन कुमार आचार्यले हालैको युवा आन्दोलनका क्रममा देखिएको हिंसात्मक गतिविधिमा संलग्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।
उनले यस्ता गतिविधिमा संलग्न जो कोही भए पनि पार्टीले सहयोग नगर्ने स्पष्ट पारेका छन्।
नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछाने बाहिरिँदा भएको तोडफोड र आगजनीको घटनाप्रति लक्षित गर्दै आचार्यले हिंसालाई पार्टीले कहिल्यै समर्थन नगर्ने बताएका छन्। उनले घटनामा पार्टीका नेता वा कार्यकर्ता संलग्न रहेको पाइएमा कानुनअनुसार अनुसन्धान गरी कारबाही गर्न सरकारलाई आग्रह गर्दै त्यसमा पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
सहमहामन्त्री आचार्यले नख्खु कारागारबाहिर भएको प्रदर्शनका क्रममा केही व्यक्तिले भीडलाई उक्साएको र हिंसात्मक गतिविधिमा संलग्न भएको भिडियो तथा फोटोहरू आफूले प्राप्त गरेको बताए। उनले ती सबै प्रमाण पार्टीको अनुशासन आयोगलाई बुझाइसकेको पनि जानकारी दिए।
उनले भने, ‘म वा मभन्दा माथिल्लो तहका वा तल्लो तहका जसले संलग्नता देखाए पनि छानबिन र कारबाहीको दायरामा आउनुपर्छ।’ आचार्यले रास्वपाको सिद्धान्त शान्तिपूर्ण र अहिंसात्मक राजनीति भएकोले यस्ता गतिविधि गर्ने कुनै पनि सदस्यको अपनत्व पार्टीले नलिने प्रष्ट पारे।
रास्वपाले जेनजी युवा आन्दोलनलाई सुरुदेखि नै शान्तिपूर्ण रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको र भदौ २३ मा भएको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले गरेको दमनको प्रतिक्रियास्वरूप उत्पन्न अराजकतालाई पार्टीले कहिल्यै समर्थन नगर्ने आचार्यले बताए। उनले पार्टीविरुद्ध मिथ्या सूचना र अफवाह फैलाउने षड्यन्त्र भइरहेको दाबीसमेत गरे।
अन्तमा, आचार्यले रास्वपा शान्ति र लोकतान्त्रिक मूल्यमा प्रतिबद्ध रहेको र कुनै पनि तह वा तप्काबाट हुने उग्र गतिविधिको समर्थन नगर्ने बताए। उनले अन्यायको अनुभूति गर्ने सबै युवाहरूसँग एकता र सहकार्यका लागि आह्वान पनि गरे।