जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई फिर्ता बोलाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराए पनि उनले भने पदबाट राजीनामा दिन अस्वीकार गरेका छन्।
दुई मन्त्रीले राजीनामा दिए पनि मुख्यमन्त्री सिंहले आफू पदबाट नहट्ने र प्रदेश सभामा विश्वासको मत लिने बताएका छन्।
जेनजी आन्दोलनका क्रममा राजीनामाको घोषणा गरेर पछि फिर्ता लिएका मुख्यमन्त्री सिंहले अहिले पार्टीले फिर्ता बोलाएको पत्रको आधारमा राजीनामा नदिने अडान लिएका छन्। ‘म राजीनामा दिन्नँ, प्रदेशसभामा जे हुन्छ, त्यसैलाई सामना गर्छु,’ उनले भने। उनले राजीनामाको विषयलाई पार्टीका केही नेताले गिजोलेको आरोप पनि लगाएका छन्।
उनको यो अडानले संवैधानिक र कानुनी बहस सिर्जना गरेको छ। संविधानविद्हरूका अनुसार, पार्टीले पत्र लेख्दैमा मुख्यमन्त्रीले पद छाड्नुपर्ने व्यवस्था छैन। यता, पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झा भने पार्टीको पत्रका आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताउँछन्। उनले राजीनामा नदिए प्रदेश प्रमुखले सभामुखमार्फत उनलाई हटाउन मिल्ने संवैधानिक व्यवस्था रहेको तर्क गरेका छन्।
यद्यपि, प्रदेश प्रमुखको कार्यालयले भने कानुनी विज्ञहरूसँग परामर्श गर्दा पार्टीको पत्रकै आधारमा मुख्यमन्त्रीलाई हटाउन नमिल्ने सुझाव आएको बताएको छ। प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी काठमाडौंमा रहेको र उनी जनकपुर फर्किएपछि यसबारे थप छलफल गरी निर्णय लिइने कार्यालयले जनाएको छ। मुख्यमन्त्रीको यो अडानले मधेश प्रदेशको राजनीतिक अवस्था थप जटिल बन्ने देखिएको छ।