वीरग्न्ज । जेनजी आन्दोलनपछि नेपालका अन्य प्रमुख राजनीतिक दलमा जस्तै जनमत पार्टीभित्र पनि नेतृत्व परिवर्तनको बहस सुरु भएको छ।
पार्टीका वरिष्ठ नेताहरूले अध्यक्ष डा. सी.के. राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई पदबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएका छन्।
पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका संयोजक संजय कुमार यादवसहितका शीर्ष पदाधिकारीहरूले संयुक्त रूपमा राजीनामा माग गर्दै एक पत्र जारी गरेका छन्। पत्रमा उनीहरूले जेनजी आन्दोलनपछि देशको राजनीतिक अवस्थामा आएको परिवर्तनलाई ध्यानमा राख्दै पार्टीभित्र पनि शुद्धीकरण आवश्यक भएको बताएका छन्।
उनीहरूका अनुसार, पछिल्लो समय पार्टीको कमजोर कार्यशैली, पारदर्शिताको अभाव र जनभावनाविपरीतका गतिविधिका कारण पार्टी आफ्नो मूल उद्देश्यबाट विचलित भएको छ। जनमत पार्टीलाई थप सशक्त, लोकतान्त्रिक र जनताप्रति जवाफदेही बनाउन नयाँ नेतृत्व अनिवार्य रहेको उनीहरूको भनाइ छ। यस कदमले जनमत पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको छ, जसको असर पार्टीको भविष्यमा देखिने अनुमान गरिएको छ।
यसैबीच, उनीहरूले पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यलाई पुनर्गठन र सुदृढीकरणमा सक्रिय भूमिका खेल्न पनि आग्रह गरेका छन्।
