वीरगन्ज । जेनजी आन्दोलनको क्रममा देशभरका बैंकहरूमा ठूलो क्षति पुगेको छ।
विशेषगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ। आन्दोलनकारीले बैंकका विभिन्न शाखामा तोडफोड, आगजनी र लुटपाट गरेको नेपाल बैंकर्स संघले जनाएको छ।
राष्ट्रिय वाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार, जेनजी आन्दोलनका क्रममा बैंकको नयाँ बानेश्वर शाखामा सबैभन्दा धेरै क्षति पुगेको छ। त्यहाँबाट करिब ३३ करोड २४ लाख रुपैयाँ बराबरको १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ। लुटिएको सुन ग्राहकले धितोमा राखेका गरगहना भएको रेग्मीले बताए।
उनका अनुसार, भैरहवा भन्सार कार्यालयको शाखाबाट पनि करिब १५ देखि २० लाख रुपैयाँ नगद लुटिएको छ। यद्यपि, बैंकको ढुकुटी र महत्त्वपूर्ण कर्जाका कागजपत्रहरू भने सुरक्षित रहेको उनले बताए।
नेपाल बैंकर्स संघको तथ्याङ्कअनुसार, देशभरका ६१ वटा बैंकका कार्यालयमा तोडफोड र क्षति पुगेको छ। धेरैजसो ठाउँमा झ्यालढोका, फर्निचर र कम्प्युटरजस्ता भौतिक सामग्रीहरूमा क्षति भएको छ। सरकारी कार्यालयहरूसँगै रहेका बैंकका शाखाहरूमा बढी नोक्सानी भएको संघले जनाएको छ। विकास बैंकका केही कार्यालयमा पनि सामान्य क्षति पुगेको देखिएको छ।
जेन(जी आन्दोलनले सिंहदरबार, सरकारी कार्यालयहरू, केही उद्योग र व्यवसायीका घरहरूमा समेत ठूलो मात्रामा तोडफोड र आगजनी गरेको थियो।